नेकपा (एकीकृत समाजवादी)ले अध्यक्ष माधवकुमार नेपालविरुद्ध पतञ्जली जग्गा प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा अस्वाभाविक र राजनीतिक आग्रह प्रेरित रहेको ठहर गरेको छ । शुक्रवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले यस्तो ठहर गरेको पार्टी सचिव सोमप्रसाद पाण्डेले बताउनुभएको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले अध्यक्ष नेपालमाथि लगाइएको मुद्दा कानूनी नभई राजनीतिक हो भन्ने निष्कर्षमा पार्टी पुगेको जानकारी दिनुभयो । उहाँले पतञ्जली प्रकरणमा अध्यक्ष नेपालमाथि नभई पतञ्जलीमाथि छानविन हुन आवश्यक रहेको पनि बताउनु भयो ।