परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायु परिवर्तन अब कुनै क्षेत्र वा देश विशेषको नभएको बताउनुभएको छ ।
काठमाडौंमा शुक्रवारदेखि शुरु भएको सगरमाथा संवाद कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जलवायु परिवर्तनको मुद्दा अब विश्वको समस्या भएकाले यसले सिंगो मानवतालाई नै संकटमा पारिरहेको उल्लेख गर्नुभयो । विश्वव्यापी संकटसँग जुध्नका लागि कुनैपनि देशको आफ्नो एक्लो प्रयास पर्याप्त नभएको मन्त्री राणाको भनाइ छ । उहाँले संयुक्त र सामुहिक प्रयासका साथ अघि बढ्नुपर्ने आवश्यकता रहेको जिकिर गर्नुभयो । अब विश्वले नै जलवायु परिवर्तनका समस्याहरुको पहिचान र तिनको निदानका लागि संयुक्त प्रयास गर्न आवश्यक रहेको बताउनु भयो । जलवायु परिवर्तनबाट नेपाल र विश्वकै वातावरण हाल जोखिममा रहेको भन्दै मन्त्री डा. राणाले इमान्दार संवाद र प्रभावकारी कार्यको अभावले मानवताको भविष्यलाई पनि ठूलो खतरामा पार्नसक्ने बताउनु भयो । मन्त्री डा. राणाले नेपालले हालैका वर्षहरूमा विनाशकारी तथा श्रृंखलाबद्ध गम्भीर मौसमी समस्याहरु भोगिरहेको बताउँदै बाढी र हिमनदी विस्फोटन, खडेरी, पानीको अभाव र वन डढेलोजस्ता समस्याले देशभर ठूलो क्षति भएको बताउनु भयो । —न्युज एजेन्सी नेपाल