हिमालदेखि महासागरसम्मको सोच जरुरीः प्रधानमन्त्री ओली

जेठ २, २०८२ शुक्रबार
हिमालदेखि महासागरसम्मको सोच जरुरीः प्रधानमन्त्री ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालदेखि महासागरसम्मको सोच जरुरी रहेको बताउनुभएको छ ।


शुक्रवारबाट काठमाडौंमा शुरु भएको सगरमाथा संवादको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले हिमालहरु विश्वका विभिन्न वार्ताहरुमा उपेक्षित हुने गरेको भन्दै हिमाललाई नबिर्सिन विश्वसँग खबरदारी गर्नुभयो । उहाँले हिमालले नै जलवायु सन्तुलन राख्ने र पानीको भण्डारण गर्ने बताउनु भयो । उहाँले जीवन र विश्व बचाउन शाहसी र एकीकृत दृष्टिकोण चाहिएको बताउनु भयो । हिमालहरू उपयुक्त सम्मानका हकदार रहेको पनि बताउनु भयो । स्वच्छ ऊर्जामा लगानी बढाउनुपर्ने, जलवायु–उत्थानशील बालीहरू बढाउनुपर्नेमा जोड दिनुभयो । जोखिम मूल्याङ्कन बलियो बनाउन विश्वका नेताहरुसँग आह्वान गर्नुभयो । 
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हामी हिमाललाई नबिर्सौं । विश्वका वार्ताहरूमा तिनीहरू प्रायः जसो उपेक्षित हुन्छन् । तर तिनैले जलवायु सन्तुलन कायम राख्छन् । तिनैले पानीको भण्डारण गर्छन् । तिनैले जमिनलाई पुनःसिञ्चित गर्छन् । तिनैले जीवनको रक्षा गर्छन् । जब हिमाल पग्लिन्छन् — उपत्यकाहरू पीडित हुन्छन् । नदीहरू सुक्छन् । बालीहरू नष्ट हुन्छन् । सागरहरू उर्लन्छन् । जीवन विखण्डित हुन्छ । हिमालय—हाम्रो तेस्रो ध्रुव—विश्व औसतभन्दा छिटो तात्दैछ । हिमनदीहरू हराउँदैछन् । हिमतालहरू फैलिंदैछन् । तटीय क्षेत्रका करोडौं मानिसहरू—जोखिममा छन् । हामीलाई साहसी, एकीकृत दृष्टिकोण चाहिएको छ । हिमालदेखि महासागरसम्मको सोच चाहिएको छ । हिमालहरू उपयुक्त सम्मानका हकदार हुन् । हामीले ध्यान दिनुपर्छ । विशेष वित्तीय सहयोगसहित । तदनुकूलका नीतिहरू सहित । हामीले स्वच्छ ऊर्जामा लगानी गर्नुपर्छ । जलवायु–उत्थानशील बालीहरू बढाउनु पर्छ । महिला र युवालाई अगाडि ल्याउनु पर्छ । र विस्थापितहरूलाई सुरक्षा दिनुपर्छ । आउनुस् जोखिम मूल्याङ्कन बलियो बनाऔं । पूर्वसूचना प्रणाली निर्माण गरौं । डाटा साझेदारी गरौं । सीमापार सहकार्य मजबुत पारौं । र सबैभन्दा महत्वपूर्ण—हाम्रो प्राचीन ज्ञानलाई आधुनिक नवप्रवर्तनसँग आवद्ध गरौं । यसरी नै हो—दीगो उत्थानशीलता बढाउने । यसरी नै हो—पृथ्वीको सम्मान गर्ने । र यसरी नै हो—हाम्रो साझा भविष्य जोगाउने ।’
प्रधानमन्त्री ओलीले साझा भविष्य जोगाउन सबै मिलेर काम गर्नुपर्ने बताउनु भयो । —न्युज एजेन्सी नेपाल

 

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images