संसदको आगामी हिउँदे अधिवेशन नयाँ भवनबाट सञ्चालन हुने परिस्थिति निर्माण गर्न सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ । बिहीवार सिंहदरबारमा निर्माणाधीन सङ्घीय संसद भवनको हालसम्मको प्रगति सम्बन्धमा छलफल गर्न बसेको सङ्घीय संसद्अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो । समिति सभापति ठाकुरप्रसाद गैरेले आगामी हिउँदे अधिवेशनमा प्रतिनिधिसभा र राष्ट्रिय सभा नयाँ संसद भवनमा सञ्चालन होस् भन्ने आफूहरूको स्पीरिट रहेको बताउनु भयो ।