वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले युवा पलायनलाई रोक्नु आजको प्रमुख चुनौति भएको बताउनुभएको छ । प्रदेश युवा परिषद् वागमतीको आयोजनामा आईतवारदेखि शुरु भएको प्रदेश युवा सम्मेलन २०८२ लाई उद्घाटन गर्दै मुख्यमन्त्री लामाले युवालाई रोजगारी र उत्पादनसँग आवद्ध गर्न प्रदेश सरकारले पर्याप्त मात्रामा लगानी गरिरहेको बताउनुभएको हो । मुख्यमन्त्री लामाले रोजगारीको नाममा धेरै युवाहरु विदेशी भुमिमा पसिना बगाउनुपरेको दृष्टान्त प्रश्तुत गर्दै ति युवाहरुले पठाएको रेमिट्यान्सले नै नेपालको अर्थतन्त्र धानेको बताउनु भयो । स्वदेशमै रोजगारीको अवसर दिलाउन प्रदेश सरकारले कोसिस गरिरहेको समेत उहाँले दाबी गर्नुभयो । मुख्यमन्त्री लामाले प्रदेश सरकारले सञ्चालन गर्ने युवा लक्षित कार्यक्रमहरु युवाहरुको भावना र आवश्यकताको जगमा बनेको जिकिर गर्नुभयो । उत्पादन र रोजगारी वृद्धि गर्न कृषिमा आधुनिकीकरण र युवाको संलग्नता नै मुख्य सवाल भएको उहाँको भनाई छ ।