अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारण सभामा पूर्वअध्यक्ष गणेश थापालाई प्रवेशमा रोक लगाइएपछि शुक्रवार धुलिखेलमा विवाद उत्पन्न भएको छ । थापालाई साधारण सभास्थलको गेटमै सुरक्षाकर्मीले रोकेपछि केही समय वातावरण तनावपूर्ण बनेको हो । यद्यपि भित्र साधारणसभा भने सञ्चालन भइरहेको छ । साधारण सभाको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष टंकलाल घिसिङले गर्नुभयो । एन्फाले प्रवेश पास नभएको भन्दै थापालाई रोक लगाएको बताएको छ । यससँगै उल्लेख्य संख्यामा सुरक्षाकर्मीहरू पनि घटनास्थलमा खटाइएको छ । थापाले भने आफू उच्च अदालत पाटनको आदेशअनुसार सभामा सहभागी भएको बताउनु भयो । उहाँले अदालतको आदेश मान्दिन भन्न वा साधारण सभामा प्रवेश दिन एन्फालाई आग्रह गर्नुभयो ।