मंगलवार राति र बुधवार बिहान भारतले पाकिस्तानका ६ वटा क्षेत्रमा नागरिक बस्तीमा आक्रमण गर्दा महिला र बालबालिकासहित २६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन् । पाकिस्तानी सेनाको मिडिया शाखाका प्रवक्ताकाअनुसार भारतले पाकिस्तान नियन्त्रित कश्मीर र देशको पूर्वी पञ्जाव प्रान्तमा सर्वसाधारणलाई लक्षित गर्दै घर र मस्जिदहरूमा आक्रमण गरेको थियो । अन्तर–सेवा जनसम्पर्क का महानिर्देशक लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले पाकिस्तानी वायुसेनाले तीन राफेल, एउटा एमआईजी–२९, एउटा सुखोई र एउटा लडाकु ड्रोनसहित पाँच भारतीय लडाकु विमान खसालेको छ । जसको भग्नावशेष भारतीय क्षेत्र भित्र खसेको थियो । कुनै पनि पाकिस्तानी विमान भारतीय हवाई क्षेत्रमा नगएको बताइएको छ ।